अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकार बर्खास्त

label सुदूर खबर संवाददाता query_builder September, 11 2019

वासिंगटन, भदौ २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्। बोल्टनसँग आफ्नो असहमति रहेका कारण आफूले पदबाट राजीनामा मागेको जानकारी दिएका छन् ।

बोल्टनले भने आफूले नै राजीनामा दिएको बताउँदै उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।

सन् २०१८ यता पदमा रहेका बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार हुन । ट्रम्पको ट्विटलगत्तै बोल्टनले पनि पछिल्लो घटनाक्रमका बारेमा आफ्ना मत सार्वजनिक गरेका थिए ।

उनले आफूले राजीनामा बुझाएपछि ‘ट्रम्पले त्यसबारे भोलि कुरा गरौं’ भनेको उल्लेख गरेका छन् । घटना सार्वजनिक भए लगत्तै बोल्टनले प्रत्यक्ष प्रसारणमा रहेका फक्स न्यूजका एकजना प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका थिए ।

वासिङ्टन पोस्टका संवाददाता रोबर्ट कोस्टालाई पठाएको एसएमएसमा उनले उचित समयमा आफ्नो भनाई राख्ने र आफ्नो प्रमुख चासो अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको उल्लेख गरेका थिए । बोल्टनलाई हटाएपछि चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए ।

विदेश नीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार मानिन्थे । ट्रम्पले इरानी नेताहरुसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले प्रतिवाद गरेका थिए ।

उनले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने अडान राख्दै आएका थिए । बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरण सम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरू बताउँछन् ।

  •  एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।