‘स्वास्थ्य बिमा कार्यक्रम’ डोटीमा पनि शुरु

label झलक पाली query_builder September, 11 2019

डोटी, भाद्र-२५।
नेपाल सरकारको नीति अनुसार डोटीमा पनि ‘स्वास्थ्य बिमा कार्यक्रम’ शुरु भएको छ ।
बुधबार आयोजित स्थानीय तहका जनप्रतिनिधी र सरोकारवालासँगको अभिमूखिकरण गोष्ठीमा स्वास्थ्य बिमा बोर्ड काठमाण्डौले देशकै ४८ औं जिल्लाका रुपमा डोटीमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ शुरु भएको जानकारी दिएको हो ।
सरकरी तवरले वि.सं. २०७२ चैत्र २५ गतेदेखि कैलाली जिल्लाबाट शुरु गरिएको उक्त कार्यक्रम डोटी र डडेल्धुरामा लागु भएमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ लागु गर्ने सुदूरपश्चिम प्रदेश देशकै पहिलो प्रदेश बन्ने स्वास्थ्य बिमा बोर्ड टेकु काठमाण्डौका जनस्वास्थ्य निरिक्षक भरत बोहराले बताए ।
यद्यपी नेपालमा सबैभन्दा पहिले सन् १९७६ मा अन्तराष्ट्रिय गैरसरकारी सँस्था युनाईटेड मिसन टु नेपालले सिएचडिपी कार्यक्रममार्फत स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको थियो ।


त्यसपछि काठमाण्डौ, धादिङ्, नवलपरासी र सुनसरीमा विभिन्न संघसँस्थाबाट उक्त कार्यक्रम लागु गरिएको अभिलेख छ ।
नेपालको संविधान २०७२ धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्त अन्तरगत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै उनिहरुको स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य बिमा ऐन २०७४ र स्वास्थ्य बिमा नियमावली २०७५ जारी भई कार्यान्वयनको चरणमा रहेका छन् ।
नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वासथ्य बिमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बिमा नीति २०७१ को दीर्घकालिन लक्ष अनुसार कार्यक्रम अघि बढाईएको दिपायल सिलगढी नगरपालिका, स्वास्थ्य इकाइ संयोजक राजु खड्काले बताईन् ।
स्वास्थ्य बिमा गर्नका लागि ५ जनासम्मको परिवारले वार्षिक रु ३ हजार ५ सय र ५ जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्यको थप रु ७ सय बिमा रकम तिर्नुपर्ने व्यवस्था छ ।


स्वास्थ्य बिमा गरेमा नेपाल सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरु, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवाहरु पनि पाउने छन् । त्यस्तै ५ जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु १ लाख र ५ जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य रु. २० हजार थप गरी रु. २ लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था रहेको छ ।
स्वास्थ्य बिमा कार्यक्रम जिल्लाभर लागु गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति राखिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न बाँकी जिल्लाहरुमा क्रमशः कार्यक्रम बिस्तार गर्दै लैजाने स्वास्थ्य बिमा बोर्डले नीति लिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्